राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोध, सरकारलाई फिर्ता लिन आग्रह

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयकले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खतरा रहेको भन्दै सरकारलाई विधेयक फिर्ता लिन आग्रह गरेका छन्।
रास्वपाले विधेयकबारे सार्वजनिक बहस तथा खुला परामर्श बिना हतारमा दर्ता गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएको छ। विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको आधारभूत तत्व वाक् स्वतन्त्रता हो। सरकार नागरिक अधिकारमाथि अंकुश लगाउने नियतले अघि बढेमा यसलाई लोकतन्त्रको दुरुपयोगका रूपमा व्याख्या गरिनेछ।”
रास्वपाले संसदीय बहुमतको आडमा नागरिक स्वतन्त्रता संकुचित पार्ने प्रयास अस्वीकार्य हुने भन्दै संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कुनै पनि कानून निर्माण हुन नहुने स्पष्ट पारेको छ। साथै, सरकारले विधेयक फिर्ता लिएर सरोकारवालासँग परामर्श गरी नागरिक स्वतन्त्रता सुनिश्चित हुने गरी पुनर्लेखन गर्नुपर्ने माग गरेको छ।