२७ माघ २०८१, आइतबार
लुम्बिनी प्रदेश स्थापना दिवस

नागरिकको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने सरकार– मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  3 February, 2025 6:31 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिन सफल भएको बताएका छन् ।

प्रदेश स्थापना दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सातवर्षको यात्रामा संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेश सफल भएको अनुभव गरिएको उल्लेख गरेका छन् ।

“विगत सात वर्षमा हामीले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौं”, उनले भने, “लुम्बिनी प्रदेश अब देखिने, अनुभव गर्न सकिने र नागरिकको जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्न सक्ने अवस्थामा पुगेको छ।”

मुख्यमन्त्री आचार्यले प्रदेशको आफ्नै प्रशासनिक संरचना, विशिष्ट विकास मोडेल र जनअपेक्षा पूरा गर्ने क्षमता बढ्दै गएको उल्लेख गर्दै, स्थापनाको आठौं वार्षिकोत्सव मनाइरहँदा प्रदेश सरकार आम नागरिकको विश्वास जित्न सफल भएकोमा खुशी व्यक्त गरे ।

प्रदेश सरकार नागरिकको विकासप्रति तीव्र आकांक्षा पूरा गर्ने प्रतिबद्धतासहित अघि बढेको छ। बनेका ऐन, नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्दै, प्रदेशको दिगोपना सुनिश्चित गर्न तथा साझा सरोकारका मुद्दाहरूमा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न सरकार तयार रहेको उनले बताए ।

“राजनीतिक अस्थिरताको अन्त्य गर्दै समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्य हासिल गर्न प्रदेश सरकार कटिबद्ध छ”, उनले थपे। लुम्बिनी प्रदेश सरकारले आठौं स्थापना दिवसलाई विशेष उत्सवका रूपमा मनाइरहेको छ। प्रदेशसभा सचिवालय परिसरमा मुख्य समारोहको आयोजना गरिंदैछ, जसमा प्रदेश प्रमुखको विशेष उपस्थिति रहनेछ।

यस अवसरमा परम्परागत बाजागाजासहित झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूका प्रदर्शनी स्टलहरू र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन् । नागरिक सहभागितालाई विशेष प्राथमिकता दिँदै प्रदेश सरकारले आज सार्वजनिक विदा समेत घोषणा गरेको छ।

लुम्बिनी प्रदेशले विगतमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसका रूपमा मनाउँदै आएको थियो । यद्यपि, दुई दिवसलाई एउटै दिन मनाउने निर्णय अनुसार, अबदेखि माघ २१ लाई ‘प्रदेश स्थापना दिवस’ का रूपमा औपचारिक रूपमा मनाइने भएको छ।



प्रतिक्रिया दिनुहोस !