लुम्बिनी प्रदेश स्थापना दिवस तीन दिनसम्म विशेष उत्सवका साथ मनाइदै
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ। आज आठौं स्थापना दिवसको अवसरमा प्रदेशभर भव्य समारोह आयोजना हुँदैछ। यस अवसरमा प्रदेश सरकारद्वारा सार्वजनिक बिदा समेत घोषणा गरिएको छ।
प्रदेशसभा सचिवालय परिसरमा मुख्य समारोह आयोजना गरिंदैछ, जहाँ प्रदेश प्रमुखको विशेष उपस्थिति रहनेछ। समारोहलाई थप आकर्षक बनाउन बाजागाजासहितको झाँकी प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम तथा विभिन्न मन्त्रालयका प्रदर्शनी स्टलहरू राखिने छन् ।
स्थापना दिवसलाई अझ भव्य बनाउन माघ २०, २१ र २२ गते तीन दिनसम्म प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय तथा सबै सरकारी कार्यालयहरूमा दीपावली गरी उत्सवमय वातावरण सिर्जना गरिने छ।
शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र सरुमारानी गाउँपालिकाले आफ्ना क्षेत्रीय कला, संस्कृति र भेषभूषा झल्किने झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखेका छन्।
यस वर्षको झाँकी प्रदर्शनलाई अझ प्रतिस्पर्धात्मक बनाउन विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। झाँकी प्रदर्शनमा प्रथम हुनेलाई रु. २०,०००, दोस्रो हुनेलाई रु. १५,०००, र तेस्रो हुनेलाई रु. १०,००० प्रदान गरिनेछ। पहिले लुम्बिनी प्रदेशले माघ २१ लाई ‘प्रदेशसभा स्थापना दिवस’ र फागुन ३ लाई ‘सरकार स्थापना दिवस’का रूपमा मनाउँदै आएको थियो। तर, प्रदेश सरकारले यी दुई दिवसलाई एकै दिन मनाउने निर्णय गर्दै अबदेखि माघ २१ लाई ‘प्रदेश स्थापना दिवस’को रूपमा मनाउने परम्परा बसालेको छ।








