२७ माघ २०८१, आइतबार

सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी

प्रकाशित मिति :  3 February, 2025 6:02 pm


काठमाडाैँ । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँसहित जनकपुर, वीरगञ्ज लगायत देशभर नै श्रीपञ्चमीको अवसरमा भक्तजनहरूको बाक्लो उपस्थिति थियो ।

काठमाडौँ उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड थियो । वैदिक सत्य सनातन धर्मावलम्वीहरूले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् । वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् । वसन्त ऋतुको शुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ ।

आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ । आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतवन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने ज्ञाताहरु बताउँछन् । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ । उपत्यकाका स्वयम्भूनाथ, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !