२७ माघ २०८१, आइतबार

अर्गानिक उत्पादनमा जोड दिनुपर्छ–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  4 February, 2025 5:53 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्वोधन बताएका छन् ।

अम्बिकेश्वरी व्यवसायिक तरकारी खेती कृषक समूहसँग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यान्न तथा तरकारी उत्पादनमा रासायनिक मल र विषादीको प्रयोगलाई घटाउदै जैविक मल र जैविक विषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउनेगरी प्रदेश सरकारले सम्वोधन गर्ने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले बिक्रीका लागि राखिएका तरकारीको विषादी परिक्षणको व्यवस्था मिलाउने गरी कार्यक्रम बनाउन समेत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिए । किसानहरुले भारतबाट आउने तरकारीमा अत्याधिक विषादी हुने गरेको गुनासो गर्ने गरेका छन् ।

सिमा नाकामा संघीय सरकारले विषादी परिक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताए ।

‘‘विषादी परिक्षणका लागि सिमानामा व्यवस्था छ । त्यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विगतमा पनि पहल लिएको थियो । अहिले पनि हामीले यसमा ध्यान दिन्छौं’’, उनले भने, ‘‘सिमानाबाट हुने तरकारी, दूध, खसी बोका, कुखुराको तस्करी रोक्नका लागि विशेष पहल भएको छ । अहिले यसमा कमी आएको छ ।’’

भैरहवा, कृष्णनगर, नेपालगञ्जको नाकामा विषादी परिक्षण परिक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानहरुले माग राखेका थिए ।

घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना अम्बापुरका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ ।

प्रदेश सरकारले जैविक मल, जैविक विषादी तथा सिंचाइका लागि सहयोग गर्नेगरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । किसानहरुसँग प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राजु खनालले किसानहरुलाई हौसला थप्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !