राेल्पाकाे त्रिवेणी गाउँपालिकामा खानी उद्योगविरुद्ध आन्दोलन तीब्र

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३ रामनगरका स्थानीयहरु रोल्पा चुनढुंगा प्रा.लि. र शिवक्षेत्र खनिज उद्योग प्रा.लि. काे बिरुद्धमा आन्दोलनमा उत्रिएका छन् ।
रोल्पा चुनढुंगा प्रा.लि. र शिवक्षेत्र खनिज उद्योग प्रा.लि.ले सञ्चालन गरिरहेको उत्खननका कारण सडक ध्वस्त हुनुका साथै घर भत्किनुका साथै बालबालिकाको शिक्षामा असर पुगेको र विस्फोटक पदार्थहरू अव्यवस्थित रूपमा राखिएको भन्दै आक्रोशित स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयहरूले पटक–पटक वडा तथा गाउँपालिकासमक्ष निवेदन दिएर उद्योगहरूको अनियमित गतिविधि रोकी क्षतिपूर्तिको माग गर्दै आएका थिए ।
गाउँपालिकाले उद्योग विभागसँग १० बुँदे कार्ययोजना अनुरूप छलफल गरी समाधान खोज्न आग्रह गरे पनि उद्योगहरूले अपेक्षित कदम नचालेको स्थानीयहरूको आरोप छ।
गाउँपालिकाले पटक–पटक उद्योग विभागसँग माग गर्दै १० बुँदे कार्ययोजना अनुरूप प्रतिनिधिहरू नआएपछि तत्काल समाधानका लागि उद्योग पिल्सन संघसँग ध्यानाकर्षण पत्रसमेत पठाएको थियो।
यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारीसँग बैठक बसी, स्थानीय प्रशासन ऐन २०२८ को दफा २ (ख) अनुसार कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बुढा मगर र उपाध्यक्ष लेखनाथ घर्तीले विज्ञप्ति जारी गरी स्थानीय तहले उद्योगहरूसँग समाधान खोज्न निरन्तर प्रयास गरिरहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा जनताका जायज माग पूरा गर्न सम्बन्धित निकायहरू गम्भीर बन्नुपर्ने र दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।
स्थानीय प्रशासनले पनि उद्योगहरूलाई जिम्मेवार बनाउँदै, प्रभावित समुदायको माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ। यदि उद्योगहरूले आफ्नो व्यवसायका कारण सिर्जना भएका समस्याहरूको उचित व्यवस्थापन नगरे थप आन्दोलन चर्किने स्थानीयवासीहरूले चेतावनी दिएका छन्।