१० चैत्र २०८१, सोमबार

घाेराही ८ का निर्वाचित वडाध्यक्षलाई एमालेले गर्याे कारबाही

प्रकाशित मिति :  5 February, 2025 8:34 pm


दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय, घोराहीमा सम्पन्न भएको छ । बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा आयोजना हुने जनसभामा ५० हजारभन्दा बढी जनसहभागिता सुनिश्चित गर्ने लक्ष राखेको छ ।

विशाल जनसभा व्यवस्थित बनाउन बैठकले जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । साथै विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । जसअन्तर्गत् जनपरिचालन उपसमिति संयोजक जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, मञ्च व्यवस्थापन उपसमिति संयोजक जिल्ला सचिव श्याम डाँगी, स्वयंसेवक परिचालन उपसमिति संयोजक सचिवालय सदस्य सुदन केसी, प्रचारप्रसार उपसमिति संयोजक प्रचार विभाग प्रमुख संगीत बस्याल रहेका छन् ।

जनसभालाई दाङका १० वटै पालिका, १ सय वटै वडा कमिटी तथा अनेमसंघ, अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, लोकतान्त्रिक मगर संघ, लोकतान्त्रिक थारू संघ, नेपाल जातीय मुक्ति समाज, नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल राष्ट्रिय खेलकुद महासंघ, बुद्धिजीवी परिषद्, भूमि तथा सुकुम्बासी महासंघ, पेशागत महासंघ, प्रेस चौतारी, प्रगतिशील मानव अधिकार एलायन्स, नेपाल मुस्लिम इत्तेहाद संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल पिछडाबर्ग तथा राष्ट्रिय शिक्षक संगठनलगायतका सम्पूर्ण जनवर्गीय संगठनहरूले आफ्नो झाँकी, जुलुस र पोशाकसहित सहभागिता जनाउने निर्णय गरिएको छ ।

बैठकले फागुन ५ को जनसभालाई थप व्यवस्थित बनाउन विभिन्न कार्ययोजनाहरू तय गरेको छ । यसअन्तर्गत्, माघ २५ गते पालिका कमिटीहरूको बैठक, माघ २६ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक तथा माघ २७ गते प्रदेश सभा समन्वय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरिएको छ ।

यस बैठकले भूमि समस्या समाधान आयोग दाङको अध्यक्षमा जिल्ला कमिटीका पूर्वअध्यक्ष हुकुम बस्नेत मन्त्रीपरिषद् बैठकबाट मनोनयन भएकोमा बधाई ज्ञापन गरेको छ ।

त्यस्तै, २०७९ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए ।

बैठकका प्रमुख अतिथि पोलिटब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री ओलीको आगमनलाई उत्सवको रूपमा मनाउन आग्रह गरे । उनले भने, “प्रधानमन्त्रीको आगमनले दाङको विकास र समृद्धिमा ठूलो टेवा पु¥याउनेछ । त्यसैले, सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”

साथै उनले दाङको विकास लय समातेको बताउँदै अनावश्यक राजनीति नगरी विकासलाई निरन्तरता दिन अन्य राजनीतिक दलहरूलाई समेत आग्रह गरे ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यले हालसम्मका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजना प्रस्तुत गरेका छन् । उनले फागुन ५ पछि ‘मिसन ८४’ लाई केन्द्रित गरी काम गर्ने निर्देशन दिए ।

बैठकमा केन्द्रिय सदस्यहरू जीवन गौतम, घनश्याम पाण्डे, भागवत विश्वास, कोमल वली, सीता सिग्देल, साजिदा सिद्दीकीलगायतका नेताहरूको उपस्थिति रहेको थियो। बैठकको सहजीकरण जिल्ला सचिव स्याम डाँगीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !