१२ चैत्र २०८१, बुधबार

मुख्यमन्त्रीलाई भट्दै राप्ती गाउँपालिकाले भन्याे-बजेट कार्यान्वयन नभए फोहोर संकलन रोक्छाैँ

प्रकाशित मिति :  9 February, 2025 4:03 pm


दाङ । लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको र जग्गा एकीकरण प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको भन्दै दाङको राप्ती गाउँपालिकाले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरीसहितको सम्पूर्ण कार्यपालिका टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा विशेष रूपमा सरसफाई केन्द्र व्यवस्थापन तथा जग्गा एकीकरण प्रक्रियामा देखिएको ढिलाइबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ।

राजधानी क्षेत्रको एक मात्र सरसफाई केन्द्रका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा ५ करोड विशेष अनुदानस्वरूप विनियोजन गरेको थियो । तर, सो बजेट हालसम्म कार्यान्वयन हुन नसक्दा सरसफाई केन्द्रको संरचना सुधार तथा सञ्चालनमा समस्या उत्पन्न भएको गाउँपालिकाको गुनासो छ।

बजेट कार्यान्वयन नहुँदा फोहोर व्यवस्थापन जटिल बन्दै गएको र यसले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ। यदि एक हप्ताभित्र विनियोजित बजेट कार्यान्वयन नभए राजधानी परिसरको फोहोर संकलन रोक्ने चेतावनी समेत गाउँपालिकाले दिएको छ।

गाउँपालिकामा जग्गा एकीकरण प्रक्रियामा देखिएको ढिलाइ अर्को गम्भीर समस्या बनेको छ। लुम्बिनी प्रदेशको राजधानी घोषणा भएदेखि नै २०७७ सालमा रोक्का गरिएको जग्गा हालसम्म व्यवस्थित रूपमा एकीकृत हुन नसकेको गाउँपालिकाले जनाएको छ।

यसका कारण अनधिकृत रूपमा प्लटिङ तथा किनबेच भइरहेको भन्दै गाउँपालिकाले गम्भीर चिन्ता व्यक्त गरेको छ। यदि शीघ्र कदम नचालिए राजधानी क्षेत्रको व्यवस्थित विकास प्रभावित हुने चेतावनी दिँदै गाउँपालिकाले अवैध प्लटिङ नियन्त्रण र जग्गा एकीकरण प्रक्रियालाई शीघ्र कार्यान्वयनमा ल्याउन जोडदार माग गरेको छ।

स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वय अभावका कारण राजधानी क्षेत्रको विकास प्रभावित भइरहेको गाउँपालिकाले जनाएको छ। यसलाई चाँडै समाधान नगरे राजधानी क्षेत्रको योजनाबद्ध विकास प्रभावित हुने सम्भावना रहेको गाउँपालिकाको तर्क छ।

ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले तत्काल उक्त समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने प्रतिवद्धता जनाएका छन्। अब प्रदेश सरकारले यस विषयमा कस्तो कदम चाल्छ भन्ने चासो स्थानीयवासीहरूमा बढेको छ।

उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापती चाैधरीसहित वडाध्यक्षहरुकाे सहभागीता रहेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !