राजनीतिक संवादलाई गलत प्रचार नगर्न एमाले महासचिव पाेखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पाेखरेलले नेताहरूबीच हुने अनौपचारिक संवादलाई तोडमोड गरी प्रचारबाजी गर्न नहुने स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले हालै सार्वजनिक गरेको भनाइप्रति असन्तुष्टि जनाउँदै महासचिव पाेखरेलले अनौपचारिक कुराकानीलाई राजनीतिक रूपमा तोडमोड गरेर प्रचार गर्नु अनुचित भएको टिप्पणी गरेका छन्।
पाेखरेलले भने, “नेताहरूबीच शिष्टाचारवश हुने संवादलाई याचना भनेर प्रचार गर्नु गलत हो । अनौपचारिक कुराकानीलाई सार्वजनिक खपतका रूपमा उपयोग गर्नु उचित मानिदैन ।”
माओवादी केन्द्रका नेता पुनले आफ्नो पार्टीसँग कुनै प्रकारको आग्रह गरेको भन्ने सन्दर्भलाई सार्वजनिक गरेपछि त्यसको खण्डन गर्दै महासचिव पाेखरेलले भने, “यदि कुनै विषयमा सहयोग वा छलफल आवश्यक पर्थ्यो भने माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग प्रत्यक्ष संवाद हुने थियो, न कि पुनमार्फत् ।”
उनका अनुसार संक्रमणकालीन न्यायलगायत विषयमा दलहरूबीच संवाद भइरहेका छन् र त्यस्ता छलफल स्वाभाविक रूपमा नेतृत्व तहमा हुने गर्छ ।
एमाले नेताले राजनीतिक स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै उनले थपे, “राजनीतिक ध्रुवीकरणमार्फत् बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता हो। एमालेले साना दलहरूलाई संवैधानिक वा कानूनी रूपमा निषेध गर्न खोजेको होइन, बरु स्थायित्वका लागि ठूला दलहरूलाई बलियो बनाउने पक्षमा छ ।”
उनले विगतमा नेताहरूको टाउका जोडेर गरिएको पार्टी एकता असफल भएको स्मरण गराउँदै भने, “अब कार्यकर्ताको मन जोडेर बलियो कम्युनिस्ट आन्दोलन निर्माण गर्नु नै उपयुक्त बाटो हो ।”
हालको सङ्कटपूर्ण राजनीतिक परिस्थितिमा बहुदलीय सहकार्य आवश्यक रहेको तर्क गर्दै पाेखरेलले भने, “हंग पार्लियामेन्टमा धेरै दलहरूसँग सहकार्य गर्नुपरेकोले राष्ट्रिय शक्ति निर्माणको औचित्य खण्डित हुँदैन, बरु वर्तमान घटनाक्रमले यसको आवश्यकता झन् पुष्टि गरेको छ ।”
उनले राजनीतिक स्थायित्वका लागि बलियो दलहरूको निर्माण आवश्यक रहेको भन्दै साना दलहरूलाई कानूनी रूपमा निषेध गर्ने कुरा नभएको स्पष्ट पारे।
महासचिव पाेखरेलले पुनको अभिव्यक्तिले उनी र उनको पार्टीलाई नै नोक्सान गर्ने बताए । “उहाँले के उद्देश्यले यस्तो गर्नुभएको हो, स्पष्ट छ। तर, यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान पुर्याउनेछ।”