सामाजिक सञ्जाल सम्बन्धी विधेयक पत्रकारिता क्षेत्रको हितमा छ-अध्यक्ष बस्नेत

रुपन्देही । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जाल सम्बन्धी विधेयक पत्रकारिता क्षेत्रको हितमा भएको बताएका छन्।
प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं अधिवेशनको उद्घाटन गर्दै उनले पत्रकारिता क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्यका लागि विधेयक सहयोगी बन्ने दाबी गरे।
अध्यक्ष बस्नेतले पत्रकारितासम्बन्धी सम्पूर्ण संघसंस्थासँगको परामर्शपछि विधेयक तयार पारिएको उल्लेख गर्दै यसको विरोधको औचित्य नरहेको स्पष्ट पारे।
उनले प्रेस चौतारी नेपालले नेपालको पत्रकारिता तथा सूचनाको अधिकार क्षेत्रमा गौरव गर्न लायकका काम गरेको उल्लेख गरे।उनले प्रेस चौतारी नेपालका अग्रजहरूले पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध संघर्ष गरेको स्मरण गराउँदै पछिल्लो पुस्ताले लोकतन्त्र स्थापनाका लागि कलम चलाएको मात्र नभई आन्दोलनको अग्रमोर्चामा समेत उभिएको बताए।
उनले २०६२/०६३ को जनआन्दोलनका क्रममा राजनीतिक दल तथा नेपाल पत्रकार महासंघले सक्रिय भूमिका खेल्न नसकेको अवस्थामा प्रेस चौतारी नेपालले आन्दोलनको नेतृत्व लिएको दाबी गरे।
अधिवेशनका प्रमुख वक्ता नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लिला गिरीले सत्य, तथ्य सूचना सम्प्रेषण गर्ने जिम्मेवारी निर्वाह गर्न चौतारीका पत्रकारहरूलाई आग्रह गरे।
सञ्चार क्षेत्रमा भित्रिएको विकृति तथा विसंगतिले पत्रकारिताको मूल्य र मान्यतामाथि प्रश्न उठाएको उल्लेख गर्दै उनले यसतर्फ सचेत रहनु आवश्यक रहेको बताए।
जिल्ला अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएकाे अधिवेशनमा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, चौतारीका नेता विश्वमणि सुवेदी, नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए। अधिवेशनको बन्द सत्रले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ।