माओवादी रूपान्तरण भए एकता सम्भव-महासचिव विप्लव
दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले माओवादी घटकहरूबीच एकताका लागि रूपान्तरण आवश्यक रहेको बताएका छन्।
सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै विप्लवले माओवादीहरू बिग्रिएको स्वीकार गर्दै नयाँ ढंगले एकताको प्रयास गर्नुपर्ने उल्लेख गरे ।
‘‘पहिले माओवादी नै रूपान्तरण हुनुपर्छ, त्यसपछि मात्रै एकता सम्भव छ’‘, उनले भने । उनले वर्तमान शासनप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालमा समाजवादी राज्य प्रणाली स्थापनाका लागि संघर्षरत रहेको बताए ।
‘‘०८४ को चुनावलाई समाजवादी अभियानका रूपमा प्रयोग गर्ने र समाजवाद चाहने शक्तिहरूसँग मोर्चाबन्दी गर्ने नीति लिएका छौँ’‘, उनले थपे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा ले पनि माओवादी घटकबीच ढिलोचाँडो एकता हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजित थारु, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, नेकपा केन्द्रीय सदस्यहरू सविन सी, सम्झना सी, पाटन सी, तिलक सी लगायत विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।








