१२ चैत्र २०८१, बुधबार

लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण कार्य तीव्र बन्दै : निर्माण प्रगतिबारे मुख्यमन्त्रीको चासो

प्रकाशित मिति :  11 February, 2025 2:39 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण स्थलको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मुख्यमन्त्रीले निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै प्रदेश सरकारले यस गौरवपूर्ण परियोजनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

अस्पतालको भवन निर्माण कार्यलाई तीव्रता दिइएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत् ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण कार्य अगाडि बढाइएको हो ।

भवनको शिलान्यास गत भदौ १५ गते गरिएको थियो भने २०८० पुस २६ गते भारतीय कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार १२ तले बन्ने भवन २०८५ पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य छ।

मुख्यमन्त्री आचार्यले अनुगमनपछि हालसम्मको प्रगतिलाई सन्तोषजनक बताउँदै कामलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ। हालसम्म १३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र यही आर्थिक वर्षमा २८ प्रतिशत काम पूरा गर्ने लक्ष्य राखिएको छ।

अस्पताल भवन निर्माणमा संलग्नता र हालको अवस्था
हाल दैनिक २१० जना कामदारहरू निर्माण कार्यमा संलग्न छन्। निर्माणको तल्लो बेसमेन्टको काम भइरहेकाे छ, जसअन्तर्गत रड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने, र भुइँ ढलान गर्ने कार्य भइरहेको छ।

भवनको सबभन्दा माथिल्लो भागमा हेलिप्याड निर्माण हुनेछ, जसबाट सिधै इमर्जेन्सी वार्डमा आवतजावत गर्न सकिने लिफ्टको सुविधा उपलब्ध हुनेछ । लिफ्टका लागि पिलर उठाउने कार्यसमेत भइरहेको छ।

नयाँ अस्पताल भवन सञ्चालनमा आएपछि ओपिडी, इमर्जेन्सी सेवा, ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सम्पूर्ण विशेषज्ञ सेवाहरू एउटै भवनबाट प्रदान गरिनेछ।

हाल प्रयोग भइरहेका तीनवटा अस्पताल भवनहरू डायग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला र बाल रोग उपचारका लागि प्रयोग गरिने योजना छ।

नयाँ अस्पताल भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण गरिने छ, जसको जग खन्ने कार्य सुरु भइसकेको छ। क्यान्सर अस्पताल भवन पाँचतले हुनेछ र यसमा एक सिंगल बेसमेन्ट रहनेछ।

समयमै निर्माण सम्पन्न गर्न निगरानी गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
मुख्यमन्त्री आचार्यले अनुगमनका क्रममा अस्पताल निर्माण कार्यलाई तोकिएको समयभित्र सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

“प्रदेश सरकारले यस अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। यो परियोजनाले समग्र प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ”, मुख्यमन्त्री आचार्यले भने ।

सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन, निर्माण कार्यको नियमित निगरानी, र दक्ष जनशक्ति परिचालनमा विशेष ध्यान दिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिसकिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण पूरा भएसँगै प्रदेशवासीले स्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !