१२ आश्विन २०७९, बुधबार

फौजी किरा नियन्त्रणका लागि युवा परिचालन

प्रकाशित मिति :  2 June, 2020 8:09 am


दैलेख, २० जेठ ।

दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत आइतबारदेखि युवा परिचालन गरेको हो ।

नगरपालिकाका १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक ६ सय रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिए । ‘किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ’, उनले भने ।

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ । यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ ।

सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले गत वर्षदेखि ८० प्रतिशत जति क्षति पु¥याउँदै आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । विगत दुई–तीन वर्षदेखि यो किराको आक्रमणले उत्पादनमा ह्रास आइरहेको उनले बताए । ‘यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौँ’, उनले भने । यस्तो अभियान स्थानीय तहका रूपमा नगरपालिकाले प्रदेशमै पहिलोपटक थालेको हो ।



प्रतिक्रिया दिनुहोस !