३ चैत्र २०८१, सोमबार

बालश्रम शाेषण प्रकरण : प्रदेश सभा सदस्य शर्मामाथि अनुसन्धान सुरू

प्रकाशित मिति :  12 February, 2025 6:53 pm


काठमाडौँ । नाबालिकालाई ६ वर्षसम्म बन्धक बनाएर श्रमशोषण गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि छानबिन थालेको छ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै स्व-विवेकीय क्षेत्राधिकार प्रयोग गरी अनुसन्धान प्रारम्भ गरेको जनाएको छ। आयोगले सरकारी वकिल कार्यालय काठमाडौं र पाटनलाई पत्राचार गर्दै प्रहरी प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

यसअघि, माघ २८ गते सरकारी वकिल कार्यालय काठमाडौँले सांसद शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, काठमाडौं महानगरपालिकाको सर्वेक्षणका क्रममा ती नाबालिका लामो समयदेखि घरधन्दाका काममा लगाइएको, यातना दिइएको, दसैँलगायत चाडपर्वमा समेत घर जान नपाएको खुलेको थियो ।

बालिकाको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाले उनलाई उद्दार गरी संरक्षण गृहमा राखेको थियो । यसबारे उजुरी परेपछि सर्वोच्च अदालतले बालिकाको सुरक्षाका लागि आदेश दिएको थियो। हाल उक्त प्रकरणमा आयोगले थप अनुसन्धान अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस !