विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँः महामन्त्री थापा
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।
बुधबार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता मुल्य–मान्यतामा अडिग रहने बताए ।
महामन्त्री थापाले वर्तमान सरकार नेपाली कांग्रेसको इच्छाबाट नभई परिस्थितिले निर्माण भएको बताए । उनले कांग्रेससँग एकल सरकार बनाउन आवश्यक बहुमत नभएकाले अन्य दलहरूसँग सहकार्य गर्नु अपरिहार्य भएको उल्लेख गरे ।
‘‘नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति आफैं सिर्जना भयो, हामीले चाहेर होइन । अहिले सरकार चलाउन कांग्रेससँग कुनै विकल्प छैन् । कांग्रेसले एक्लै सरकार चलाउन सक्दैन, त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नैपर्छ। अहिले एमालेसँग मिलेर सरकार बनाएका छौं‘‘, महामन्त्री थापाले भने ।
उहाँले सरकार गठनका क्रममा सात बुँदे सहमति भएको र त्यसकै आधारमा आलोपालो सरकार चलाइने जानकारी गराउनुभयो। ‘अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ। निश्चित समयपछि हाम्रो सभापति नेतृत्वमा सरकार जान्छ। हामीले सात बुँदे सहमति गरेका छौं र तीन वर्ष यही सरकार निरन्तर चल्छ,’ उहाँले भन्नुभयो।
महामन्त्री थापाले नेपाली कांग्रेस विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नगर्ने उल्लेख गरे । ‘‘यदि यी कुरामा सम्झौता गर्नुपर्ने अवस्था आयो भने कांग्रेसका लागि सरकारभन्दा महत्वपूर्ण मूल्य–मान्यता हुन्। विश्वास छ, एमाले पनि यसमा स्पष्ट छ‘‘, उनले भने ।








