३ चैत्र २०८१, सोमबार

माओवादी केन्द्रले जितेकाे राेल्पाकाे परिवर्तन गाउँपालिकाले दिएन जनयुद्ध दिवसमा बिदा

प्रकाशित मिति :  13 February, 2025 10:31 am


दाङ । माओवादी केन्द्रले जनयुद्ध दिवसलाई उत्साहका साथ मनाउन निर्देशन जारी गरिरहँदा माओवादी केन्द्रले नेतृत्व गरेको राेल्पाकाे परिवर्तन गाउँपालिकाले भने सार्वजनिक विदा दिएको छैन ।

माओवादी केन्द्रले विजय हासिल गरेका रोल्पाका ६ वटा स्थानीय तहले सार्वजनिक विदा दिए तापनि परिवर्तन गाउँपालिकाले सार्वजनिक विदा दिएको हाेइन ।

माओवादी केन्द्रले नेतृत्व गरेका रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका, सुनिलस्मृती गाउँपालिका, थवाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् । तर, परिवर्तन गाउँपालिका भने सार्वजनिक विदा बारे बेखबर रहेको छ । १० स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले ७ वटा स्थानीय तहमा विजयी हासिल गरेको थियो ।

जनयुद्ध दिवसका अवसरमा परिवर्तन गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दै शहीद परिवार, घाइते तथा अपांग योद्धाहरुलाई सम्मान गरेर मनाइरहेकाे गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले जानकारी दिए।

सर्वाेच्च अदालतकाे निर्णयकाे कार्यान्वयन गर्दै सार्वजनिक विदा नदिएकाे भन्दै अध्यक्ष घर्ती मगरले जनयुद्ध दिवसलाई स्थापित गर्नका लागि रचनात्मक कार्यक्रम गरिरहेकाे जानकारी दिए ।

गाउँपालिकाका ६ वटै वडामा आयोजित कार्यक्रममा जनयुद्धका योगदानकर्ताहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

यस अवसरमा पालिका प्रमुखले जनयुद्धले दिएको बलिदान र योगदानलाई स्मरण गर्दै समृद्धि र विकासको मार्ग पहिल्याउन जनताको एकता आवश्यक रहेको बताए।

जनयुद्ध दिवसलाई भावनात्मक रुपमा मात्रै होइन, सामाजिक न्याय र समावेशी विकासको प्रेरणास्रोतका रुपमा उपयोग गर्नुपर्ने धारणा राख्दै उनले विकास र परिवर्तनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !