१० चैत्र २०८१, सोमबार

प्रचण्डको चेतावनीः जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन्

प्रकाशित मिति :  13 February, 2025 11:07 am


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरूको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरेका हुन् ।

उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःशाहस गर्नेहरू खरानी हुने बताए । उनले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रूमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए । 

“जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ,” उनले भने ।

अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरूले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !