स्याङ्जाको अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण, धार्मिक महोत्सव फागुन ६ देखि १४ गतेसम्म हुने

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ जलबराह धार्मिक वन परिसरमा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण कार्य जारी रहेको छ। अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आज एक विज्ञप्ति जारी गर्दै धार्मिक तथा ज्योतिषीय महत्व बोकेको उक्त मन्दिरमा षट्कोण शिवालय सहित विभिन्न यन्त्र र मण्डलाहरूको निर्माण गरिएको बताए ।
नेपालमा नवग्रह पूजा गर्ने विशेष धार्मिक पीठको अभाव रहेको अवस्थामा भक्तजनहरूको आवश्यकता तथा सन्त महात्माहरूको सल्लाहअनुसार मन्दिर निर्माण थालिएको विज्ञप्तिमा उल्लेख छ। उक्त मन्दिरले शास्त्रसम्मत विधिबाट नवग्रह पूजा गर्ने परम्परालाई स्थापित गर्ने विश्वास गरिएको छ।
गाउँपालिकाले नवग्रह मन्दिरको दीगो व्यवस्थापन गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यसले जलबराह धार्मिक वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै स्थानीय व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना तथा उत्पादनको बजारीकरणमार्फत आर्थिक समृद्धि ल्याउने अपेक्षा गरिएको छ।
महाकुम्भ योगको विशेष अवसर पारेर यही फागुन ६ देखि १४ गतेसम्म नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सव आयोजना गरिने भएको छ। उक्त अनुष्ठानमा देश–विदेशका धार्मिक गुरुहरूको सहभागिता रहनेछ भने विशिष्ट व्यक्तित्वहरू समेत उपस्थित हुने जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष तिवारीले अर्जुनचौपारीवासीलाई अतिथि सत्कार, सेवा भावना, शान्ति सुव्यवस्था तथा फोहर व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै, सम्पूर्ण बासिन्दालाई घरघरमा दीपावली, पूजापाठ तथा भजनकीर्तन गरी महोत्सवलाई भव्यरूपमा मनाउन अपिल गरेका छन्।
तिवारीले धार्मिक, सामाजिक तथा राजनीतिक दल, युवा क्लब, आमा समूह, संघसंस्था, सञ्चारकर्मी, व्यवसायी लगायत सम्पूर्णलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्। उनका अनुसार, नवग्रह मन्दिर अर्जुनचौपारीको धार्मिक पहिचानको आधार बन्नेछ।