शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्री पाण्डे
काठमाडाैँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।
बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् । उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको बताए।
कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताए । मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरूबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको बताए ।
अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरू भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए ।मन्त्री पाण्डेले शक्ति राष्ट्रहरूलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकतावद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताए ।








