राज्य व्यवस्था समितिद्वारा प्राप्त उजुरीको अध्ययन गर्न उपसमिति गठन
प्रकाशित मिति : 13 February, 2025 4:59 pm

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीहरूबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले समितिमा प्राप्त उजुरीहरूको अध्ययन गर्न नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी दिए ।
उनकाअनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र वार्टीबाट डा.चन्दा कार्की, नेकपा (माओवादी केन्द्र) बाट दुर्गा राई, नेकपा (एमाले)बाट मेनुकाकुमारी पोख्रेल र नेपाली काँग्रेसबाट सरिता राई सदस्य रहेका छन् ।
उपसमितिले समितिमा प्राप्त उजुरीहरूको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ ।