नेकपा (एमाले) जिल्ला कमिटी रुकुम (पूर्वी भाग) को चौथो पूर्ण बैठक सम्पन्न

दाङ । नेकपा (एमाले) जिल्ला कमिटी रुकुम (पूर्वी भाग) को चौथो पूर्ण बैठक तथा वडा केन्द्रित तीन महिने अभियानको अभिमुखीकरण कार्यक्रम २०८१ माघ ३० गते सुरु भई फाल्गुण १ गते सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकले पार्टी केन्द्रले तय गरेको तीन महिने जरा (वडा/टोल) केन्द्रित अभियानलाई रुकुम पूर्वमा लक्ष्यअनुरूप प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गरेको छ।
बैठक जिल्ला अध्यक्ष लिलामणि गौतमको अध्यक्षतामा एवम् केन्द्रिय सल्लाहकार परिषद् सदस्य चुडामणि गौतम प्रमुख आतिथ्यतामा भएकाे बैठकमा प्रदेश कमिटी सदस्यहरू आशा स्वर्णकार, वागलाल बुढा, रुजिधन घर्ती, फत्यकुमारी ओली, भावना बुढाथोकी र प्रदेश सल्लाहकार परिषद् सदस्य दामोदर पौडेल र दलराज घर्तीकाे सहभागिता थियाे ।
जिल्ला उपाध्यक्ष गोपाल रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा जिल्ला पार्टी कार्यालयको तर्फबाट आर्थिक प्रतिवेदन हरिहर पौडेलले प्रस्तुत गरेका थिए ।
यस्तै, सिस्ने गाउँपालिका कमिटीबाट देविलाल गिरी, भूमे गाउँपालिका कमिटीबाट तारा पुन र पुथा उत्तरगंगा गाउँपालिका कमिटीबाट लक्ष्मण बुढाले कमिटीको रिपोर्ट पेश गरेका थिए ।
त्यसैगरी, पार्टीसम्बद्ध जनवर्गीय संगठनका प्रमुख/अध्यक्षहरूले समेत आफ्नो संगठनको रिपोर्ट बैठकमा प्रस्तुत गरेका थिए । नेकपा (एमाले) मा हाल २३ वटा जनसंगठनहरू रहेका छन्।
बैठकले यसअघि जिल्ला कमिटी तथा सचिवालय बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले राजनैतिक नियुक्तिको लागि भएका सिफारिसहरूको अनुमोदन, जिम्मेवारीविहीन नेता/कार्यकर्ताको व्यवस्थापन योजना तथा माथिल्लो कमिटीमा सिफारिस, फाल्गुण १० गतेभित्र पालिका कमिटीका बैठकहरू बसेर वडा केन्द्रित अभियानको विस्तृत योजना बनाउने, फाल्गुण मसान्तभित्र अवधि पुगेका जनसंगठनहरूको भेला/अधिवेशन सम्पन्न गर्ने, पार्टीको नाममा खोलिएका अनधिकृत फेसबुक पेज/ग्रुप तथा अन्य सामाजिक सञ्जालहरू तत्काल बन्द गर्न निर्देशन दिने तथा नियन्त्रण गर्ने र पार्टीविरुद्ध भएका साइबर हमलाहरूको तर्कसंगत तरिकाले प्रतिवाद गर्ने निर्णय गरेकाे छ ।
उक्त अवसरमा नेकपा (माओवादी) परित्याग गरी भूमे–१ लुकुमका दिलशाही घर्ती र फुलमान पुन नेकपा (एमाले) मा प्रवेश गरेका छन् । साथै, विभिन्न समयमा जिल्ला कमिटीमा मनोनीत भई गत माघ १५ र १६ गते नेपालगन्जमा सम्पन्न प्रदेश कमिटी बैठकबाट अनुमोदित जिल्ला कमिटी सदस्यहरूको सपथ ग्रहण समेत सम्पन्न भएको छ। बैठककाे सञ्चालन जिल्ला सचिव तेजेन्द्र बुढाले गरेका थिए।