२ पुस २०८२, बुधबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट, कालीगण्डकी पहिलो

प्रकाशित मिति :  14 February, 2025 11:34 am


काठमाडाैँ । स्याङ्जाका तीन गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा गण्डकी प्रदेशका ८५ स्थानीय तहहरूमध्ये उत्कृष्ट भएका छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अनुसार गरिएको मूल्यांकनमा कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंकसहित प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंकसहित द्वितीय, र फेदिखोला गाउँपालिका ७७.९ प्रतिशत अंकसहित तृतीय स्थानमा पुगेका हुन्।

यी तीनै गाउँपालिकामा नेकपा एमालेको नेतृत्व रहेको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा र फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी दोस्रो कार्यकालमा छन्, जसअन्तर्गत उनीहरूले स्थानीय विकासका कार्यहरूलाई प्राथमिकता दिएका छन्। त्यस्तै, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल युवा नेतृत्वका रूपमा अगाडि आएका छन्।

स्याङ्जाका नगरपालिकाहरूको कार्यसम्पादन भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। पाँच नगरपालिका रहेको जिल्लामा वालिङ नगरपालिकाले ७३.७, पुतलीबजारले ७१.७, भीरकोटले ६५.७, चापाकोटले ६२.६ अंक प्राप्त गरेका छन्।

गण्डकी प्रदेशकै पहिलो बनेको कालीगण्डकी गाउँपालिका राष्ट्रिय स्तरमा चौथो स्थानमा रहँदा, आँधीखोला गाउँपालिका पाँचौँ स्थानमा पुगेको छ। स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनले स्याङ्जाका गाउँपालिकाहरूको प्रभावकारी प्रशासनलाई उजागर गरेको छ।



प्रतिक्रिया दिनुहोस !