प्यूठानमा कांग्रेस-एमालेको द्वन्द्व : सामाजिक सञ्जालसम्म आइपुग्याे विवाद

प्यूठान । प्यूठानमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको विवाद सामाजिक सञ्जालमा फैलिएको छ। दुवै दलका नेताहरूले एकअर्कामाथि आरोप लगाउँदै सार्वजनिक रुपमा आक्रमण सुरु गरेका छन्।
विवाद मुख्यत: जिल्लाको विकास र जनप्रतिनिधिका कार्यशैलीको आलोचना गर्ने विषयमा केन्द्रित देखिन्छ। नेपाली कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले हिजाे प्रेस विज्ञप्ति जारी गर्दै एमालेका प्रतिनिधि सभा सदस्य तथा पोलिटब्यूरो सदस्य सूर्य बहादुर थापामाथि आरोप लगाएका थिए। गिरीका अनुसार थापाले सार्वजनिक रूपमा केही आपत्तिजनक र असमावेशी टिप्पणीहरू गरेका छन्।

थापाले समानुपातिक प्रणालीलाई आलोचना गर्दै यसलाई ‘अव्यवस्थित’ र ‘असमावेशी’ भनेकाे काङ्गेसकाे आरोप छ । जिल्ला सभापति गिरीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, “समानुपातिक प्रतिनिधिहरूको कुनै जिम्मेवारी छैन, न त उनीहरूले कुनै चुनाव जितेका छन् भन्ने थापाको टिप्पणी प्यूठानको पिछडा वर्ग र संविधानका मर्ममा गम्भीर आक्रमणको रूपमा हेरिएको छ।”
गिरीले थापाको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘घृणा भाषण’को रूपमा आलोचना गर्दै त्यसलाई तुरुन्त रोक्नुपर्ने बताएका छन्। उनले नेपाली कांग्रेसको मुख्य उद्देश्य जनताको अधिकार र स्वतन्त्रता सुनिश्चित गर्नु रहेको भन्दै थापाको टिप्पणीको खण्डन गरेका छन्।
थापाले यसका बारेमा आफ्नो सामाजिक सञ्जालमार्फत् खण्डन गरेका छन् । उनले गिरीको आरोपको खण्डन गर्दै भनेका छन्, “यो कुनै उन्मादको परिणाम होइन, म साँचो तथ्य र जनमतसँग जित्न सफल भएको हुँ।”
थापाले प्यूठान जिल्लामा चलिरहेका विकास योजनाहरूको बारेमा थप विवरण दिएका छन्। उनले भनेका छन्, “मैले बाग्दुला-मच्छी सडकको निर्माणका लागि १ करोडको बजेट सिफारिस गरेको छु र दोहोरो ठेक्का लागिसकेको छ। थप ६ करोडको बजेट सिफारिस गर्न म सक्रिय छु ।”
यद्यपि, थापाले ७० लाखको टेण्डर अझै निस्किएको र भारतीय निर्माण सामग्रीको प्रयोगको विषयमा पत्राचार गरिएका अवस्थाको खण्डन गरेका छन्।
थापाले काँग्रेसका नेतृत्व र मन्त्रीहरूको कुप्रचारको विरोध गर्दै यो विवादलाई समावेशी र लोकतान्त्रिक प्रक्रिया निर्माण गर्ने दिशामा फर्कन आग्रह गरे।
यस विवादका कारण प्यूठानमा राजनीतिक एकताको आवश्यकता र जनप्रतिनिधिहरू बीचको पारदर्शिता र मर्यादाका पक्षमा एकपटक पुन: विचार गरिनु आवश्यक देखिन्छ।
थापाले काँग्रेस कार्यकर्तालाई चुनौती दिँदै भने, “यदि तपाइँले सक्नुभएको भए दुर्गा पौडेललाई जिताउन सक्नुहुन्थ्यो। मैले जनमतसँगै जितेको हुँ।”
यस घटनाले प्यूठानका राजनीतिक दलहरू बीचको संवाद र प्रतिक्रिया प्रक्रियामा सत्य र तथ्यको महत्त्वलाई पुनः रेखांकित गरेको छ।

थापाकाे भनाइ जस्ताकाे तस्तै
केही नलेख्ने भनेको
तथ्य लेख्नैपर्ने भयो !
नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ।ल मानौं, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्द भाइरल गरिएको छ।
जबकि चालू आ.ब.मा बाग्दुला- मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तिमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिश गरिरहेको छु।
प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेण्डर निकालिएकोसम्म छैन। विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का संझौताअन्तर्गत १० बर्षदेखि कुरा भएर काम नभएको बाग्दुला-मच्छी-भिमगिठे सडकको पुन: ठेक्का लगाउन गतबर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।
यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटरबाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौं र ? अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?
काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ। जहाँसम्म “जितको उन्माद” भनिएको छ, पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?