निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक-नेता रिजाल

ललितपुर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपालमा राजनीतिक स्थायित्व र उत्तरदायित्व कायम गर्न निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने धारणा राखे । उनका अनुसार, वर्तमान निर्वाचन प्रणालीले कुनै पनि एकल पार्टीलाई स्पष्ट बहुमत प्राप्त गराउन नसक्दा राजनीतिक अस्थिरता बढेको छ।
डा. रिजालले २०७४ सालको निर्वाचनको उदाहरण दिँदै नेपाली कांग्रेसले ३३ प्रतिशत मत ल्याउँदा पनि केवल २३ सिट जित्नुपरेको बताए । त्यस्तै, २०७८ को निर्वाचनमा कांग्रेसले २६ प्रतिशत मत प्राप्त गरे पनि गठबन्धनको कारण प्रत्यक्षतर्फ ५७ सिट जित्न सफल भएको उल्लेख गरे ।
उनले भने, “कुनै पनि पार्टीको बहुमतबिना स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न सकिँदैन। २०१५ सालदेखि आजसम्म कुनै पनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत ल्याएको छैन। मत कम पाएको आधारमा स्थिरता नहुने तर्क गर्नु उचित हुँदैन।”
डा. रिजालले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीलाई केही परिमार्जन गर्दै १६५ सिटमध्ये ६० सिट समानुपातिक प्रणालीमार्फत चयन गर्नुपर्ने सुझाव दिए । उनका अनुसार, सहज रूपमा प्रत्यक्ष निर्वाचन जित्न सक्ने उम्मेदवारलाई समानुपातिक प्रणालीबाट ल्याउनु अनुचित हुन्छ, तर निर्वाचन जित्न कठिन हुने समुदायका लागि संसदमा प्रतिनिधित्वको सुनिश्चितता आवश्यक छ।
यस्तै, उनले २०७२ पछि नेपालमा तीन फरक नेताहरू पालैपालो प्रधानमन्त्री बन्दा सरकार तीन नेता केन्द्रित रहेको र पार्टी विभाजितजस्तो देखिएको भन्दै त्यसको समाधान निर्वाचन प्रणालीमा परिवर्तनमै रहेको बताए । “निर्वाचन प्रणालीमै सुधार नगरिएसम्म यस्तो अन्योल कायमै रहनेछ,” उनले भने।
डा. रिजालले नेपाली कांग्रेस पूर्ण प्रत्यक्ष प्रणालीको पक्षमा नरहेको स्पष्ट पार्दै, समावेशी प्रतिनिधित्व सुनिश्चित हुने किसिमको प्रणाली अपनाउनुपर्ने धारणा राखे।