अस्थिरताको कारक देश सञ्चालन गर्ने शीर्ष नेतृत्व हो: सांसद शर्मा
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्व सञ्चार मन्त्री रेखा शर्माले मुलुकमा अस्थिरता सिर्जना हुनुमा देश सञ्चालन गर्ने शीर्ष नेतृत्व जिम्मेवार रहेको बताएकी छिन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अस्थिरताको मुख्य कारण प्रतिनिधिसभामा पुगेका उत्पीडित समुदायका व्यक्ति नभई देश सञ्चालन गर्ने नेतृत्व नै भएको स्पष्ट पारे ।
उनका अनुसार, उत्पीडित समुदायका प्रतिनिधिहरू अस्थिरताको कारक बन्न सक्दैनन्, बरु सत्ता सञ्चालन गर्ने शीर्ष नेताहरूको व्यवहार र निर्णयले अस्थिरता निम्त्याएको छ।
सांसद शर्माले संविधान निर्माण भएदेखि नै संशोधनको औचित्य रहेको भन्दै संविधानलाई असंशोधनीय दस्तावेजका रूपमा लिन नहुने धारणा राखिन् । उनले गठबन्धन परिवर्तनलाई संविधान संशोधनको राजनीतिक एजेन्डा बनाए पनि हालसम्म सो प्रमाणित नभएको उल्लेख गरिन् ।
उनले पाँच वर्ष टिक्ने स्थिर सरकार आवश्यक रहेको औंल्याउँदै, “शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी छ,” भनिन् । साथै, उनले २०७४ को निर्वाचनपछि नेकपाले झन्डै दुई-तिहाइ बहुमत प्राप्त गरे पनि सरकार टिक्न नसकेको अनुभव स्मरण गराउँदै भनिन्, “अस्थिरताको कारक उत्पीडित समुदायका महिला, दलित वा अन्य प्रतिनिधिहरू होइनन्, बरु आफूलाई शीर्ष मान्ने नेताहरू नै हुन् ।”
सांसद शर्माले मुलुकमा अस्थिरताको कारण निर्वाचन प्रणाली नभएको दाबी गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता रहेको तर्क गरिन् । “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न सके मात्र उत्पीडित समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ,” उनको भनाइ छ।








