रणनैतिक र दीर्घकालीन महत्व बोकेका योजनालाई प्राथमिकता दिन्छाैँ-मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन आवधिक योजना र आयोजना बैंकलाई सशक्त रूपमा लागू गरिने बताएका छन् ।
शनिबार लमहीमा आयोजित प्रदेश विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले टुक्रे योजनालाई निरुत्साहित गर्दै रणनीतिक र दीर्घकालीन महत्व बोकेका योजनालाई प्राथमिकता दिने स्पष्ट पारे ।
“प्रदेश सरकारले तथ्यांकमा आधारित योजनाहरू निर्माण गर्छ। हामी डाटाबेसलाई आधार मानेर अघि बढिरहेका छौँ। तथ्यांक र प्रमाणको आधारमा योजना छनोट गर्दै प्रदेशको समग्र विकासलाई गति दिन्छौं”, मुख्यमन्त्री आचार्यले भने ।
उनका अनुसार, प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा अधुरा परियोजनाहरू सम्पन्न गर्न प्राथमिकतामा राखेको छ । साथै, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको दिगो विकासलाई लक्षित गरिएका योजनाहरूलाई नै वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरिनेछ । उनले थपे, “हामी आयोजना बैंकमार्फत् योजनाहरू छनोट गर्छौँ र टुक्रे योजनाहरूलाई निरुत्साहित गर्न गम्भीर छौँ। आगामी बजेटमा यस्ता योजनाहरूको संख्या घटाइनेछ ।”
मुख्यमन्त्री आचार्यले प्रदेश विकास परिषद्को बैठकबाट प्राप्त सुझावहरूलाई आवधिक योजनामा समेटिने बताए । “यहाँ उठेका महत्वपूर्ण सुझावहरू लिपिबद्ध गरिएका छन् । योजना विना हामी दिगो विकासको लक्ष्यमा पुग्न सक्दैनौं, त्यसैले सबैको साझा प्रतिबद्धता आवश्यक छ।”
उनले प्रदेश सरकार स्थापनापछि भएका उपलब्धिहरूलाई नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै भने, “सात वर्षअघि र अहिलेको अवस्थालाई तुलना गर्दा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, र उद्यमशीलता क्षेत्रमा उल्लेखनीय सुधार भएको छ ।”
बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजना तयार गर्नु आवश्यक रहेकोमा जोड दिए ।