१० चैत्र २०८१, सोमबार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुर बर्न अस्पतालमा

प्रकाशित मिति :  15 February, 2025 4:10 pm


काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

शुक्रबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा उनीहरू घाइते भएका थिए । विस्फोटका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको बताइएको छ।

दुर्घटनापछि तिनलाई तत्काल हेलिकप्टरमार्फत् काठमाडौँ ल्याइएको कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए । प्रारम्भिक उपचारपछि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ।

उनका अनुसार अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा तथा मेयर आचार्यलाई फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हो । हाल दुवैको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !