लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हाेः राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको बताएका छन् ।
आइतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताएका हुन् । उनले विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोग्नु परिरहेको बताए ।
उनले नेपाल वातावरणीय प्रकोपका निर्दोष पीडित भएको बताए । नेपालले विकसित मुलुकले गरेको अन्यायहरुलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेको बताए ।
राष्ट्रपति पौडेलले मानव अधिकार, सामाजिक तथा वातावरणीय न्याय समावेशी चरित्रका अधिकारका विषयवस्तुहरु न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताए । लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकार यसको जीवन रेखा भएको उल्लेख गरे । कानून व्यवसायीहरू विधिको शासनको पहरेदार र लोकतन्त्रको रक्षक भएको बताए ।