१२ चैत्र २०८१, बुधबार
टक्सार म्यागजिनको "समृद्ध लुम्बिनी" को लोकार्पण

प्राप्त उपलब्धीलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  16 February, 2025 2:45 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएपछिको अवधिलाई समीक्षा गर्दै उपलब्धीलाई हेरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

टक्सार म्यागेजिनको विशेषाङ्क ‘समृद्ध लुम्बिनी’ को लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता भएका उपलब्धीहरूलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

‘‘प्रदेशप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास भइरहेको छ । तर, प्रदेश स्थापना भएयता प्राप्त उपलब्धीहरूको तुलनात्मक विश्लेषण गरिएको देखिँदैन’’, उनले भने, ‘‘प्रदेश सरकारले नमुनायोग्य कामहरू गरेको छ, जसको चर्चा हुनु जरुरी छ ।’’

कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासको माध्यमबाट प्रदेशको समग्र विकासलाई आधार मानिएको बताए । प्रदेश सरकार गठन भएपश्चात् पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, मानव विकासलगायतका क्षेत्रमा उपलब्धी हासिल गरिएको स्पष्ट पारे ।

प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरुको बिचमा साझा ऐक्यबद्धता रहेको प्रष्ट पारे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले हासिल गरेका उपलब्धीहरू प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउनु पर्नेमा जोड दिए ।

यसैगरी पूर्व मुख्यमन्त्री जोखबहादुर महराले विचार फरक भए पनि प्रदेशको समृद्धिका लागि सबै पक्षको साझा दृष्टिकोणबाट अघि बढेको बताए ।

‘‘अहिले नकारात्मक धारणा हावी हुँदै गएको छ । यसलाई सकारात्मक सोचले चिर्न जरुरी छ’’, पूर्व मुख्यमन्त्री महराले भन्नुभयो, ‘‘प्रदेशको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यो सन्देश लुम्बिनीबाट दिएका छौं ।’’

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले यही अवधिमा सञ्चार ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले मिडियाको सशक्तीकरण र पत्रकारहरूको सीप अभिवृद्धिमा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

टक्कर म्यागजिनका सम्पादक किरण आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्पादन मण्डलका शंकर खनालले विशेषाङ्कको विषयमा प्रकाश पारेका थिए ।

कार्यकारी सम्पादक हिम बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निर्देशक प्रदीप आचार्यले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !