नेकपा एमालेको भोलि हुने बृहत् जनसभाका लागि तयारी पूरा

दाङ । नेकपा (एमाले) दाङले आयोजना गर्न लागेको भोलि हुने बृहत् जनसभाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । जनसभाका लागि मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, माइक तथा साउण्ड सिस्टम व्यवस्थापन, प्रचारप्रसार, यातायात व्यवस्थापन लगायतका सबै कार्यहरू सम्पन्न भइसकेका छन् ।
नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यका अनुसार, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको मञ्चमा आयोजना गरिने सभामा करिब ५० हजार जनता सहभागी हुने अपेक्षा गरिएको छ ।
उनले प्रधानमन्त्री ओलीको दाङ आगमनलाई यहाँका जनताले अवसर र उपलब्धिका रूपमा लिनुपर्नेमा जोड दिँदै, सम्पूर्ण दंगाली जनतालाई सभामा उपस्थित हुन आग्रह गरे ।
जनसभा अघि घोराहीका चार स्थानबाट फरक-फरक सांस्कृतिक झल्कने झाँकीसहित र्याली निकालिने जनपरिचालन उपसमितिका संयोजक मनोहर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, पूर्वतर्फ ट्राफिक चोक, दक्षिणतर्फ नेत्रलाल पार्क गुलरिया, उत्तरतर्फ सभाहल र पश्चिमतर्फ रतनपुर चोकबाट र्याली सुरु गरी दामोदर चोकमा एकीकृत गरिनेछ । त्यसपछि सहिद गेट हुँदै र्याली सभास्थलतर्फ अघि बढ्नेछ ।
एमाले दाङका सचिव श्याम डाँगीका अनुसार, सभामा प्रत्येक घरमा निमन्त्रणा पठाइसकिएको छ, भने सयौं गाडीमार्फत् हजारौं जनता सभामा सहभागी गराइनेछ । उनका अनुसार, दाङको समग्र विकासका लागि पार्टीले यो जनसभा आयोजना गरेको हो ।
सभालाई व्यवस्थित बनाउन करिब ३०० स्वयंसेवक परिचालन गरिने स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुदन केसीले जानकारी दिए ।
उनले सभास्थलको सुरक्षासहित अन्य व्यवस्थापनका लागि स्वयंसेवकहरू सक्रिय रुपमा परिचालित हुने बताए । एमालेको यो बृहत् जनसभा दाङको राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।