प्रधानमन्त्री ओली दाङमा : विशेष सम्बोधनदेखि विकास योजना अनुगमनसम्म
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन्। बिहान ११:३० बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयहरूमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । यसअघि २०७५ बैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।
प्रदेश सभा विशेष सम्बोधनपछि प्रधानमन्त्री ओली घोराहीमा आयोजना हुने नेकपा (एमाले) को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले समसामयिक राजनीति, सरकारका प्राथमिकता, विकास योजनाहरू, र प्रदेश सरकारसँगको सहकार्यका विषयमा आफ्नो धारणा राख्ने अनुमान गरिएको छ।
त्यसपछि प्रधानमन्त्री ओली तुलसीपुरतर्फ प्रस्थान गर्ने छन्। तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको निरीक्षण गर्ने क्रममा उनले विमानस्थलको वर्तमान अवस्था र सम्भावित सुधारका उपायहरूबारे अवलोकन गर्नेछन् ।
तुलसीपुरकै अर्को कार्यक्रममा, राष्ट्रिय सभाकी पूर्व सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीद्वारा सञ्चालन गरिने ‘कोमल रिसोर्ट’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।








