दाङ आइपुगे प्रधानमन्त्री ओली : मुख्यमन्त्री आचार्यले गरे स्वागत

लक्ष्मी पोखरेल,
दाङ । लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष रूपमा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुग्नु भएको छ।
प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् । उनी नेपाली सेनाको हेलिकप्टर (एनए ०६७) मार्फत् दाङ आएका हुन् ।
आज बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् । सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । यो निमन्त्रणा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम गरिएको हो।
यसअघि, २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई पनि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।
प्रदेश सभाको बैठकमा विशेष सम्बोधनपछि प्रधानमन्त्री ओली घोराहीमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।