दाङबाट प्रधानमन्त्रीको उद्घोष : देश बदल्ने जिम्मा मेरो हो, मलाई कसैले रोक्न सक्दैन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अभियानलाई रोक्न विभिन्न षड्यन्त्र सुरु भएको बताएका छन् ।
नेकपा (एमाले) दाङले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “मेरो नेतृत्वमा मुलुक समृद्धिको यात्रामा लम्किरहेको देखेर केही मान्छेहरु तर्सिएका छन् । समृद्धिको यात्रा र मलाई रोक्ने षड्यन्त्र सुरु भएको छ । देश बदल्ने नेतृत्व गर्ने जिम्मा मेरो हो । मलाई कसैले रोक्न सक्दैन ।”
मुलुकमा सुरुङ युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले निकट भविष्यमा लमही–घोराही सडक खण्डमा सुरुङ मार्ग मार्ग निर्माण गर्ने बताए ।
“मुलुक सुरुङ युगमा प्रवेश गरिसकेको छ । मैले हिजो सुरुङ मार्गको कुरा गर्दा हाँस्नेहरु आज सुरुङ मार्ग देखेर दङ्ग पर्ने गरेका छन्”, ओलीले भने, “म अरुले जस्तो नहुने कुरा गर्दिनँ । भोलि नै यो हुन्छ भन्दिनँ । लमही–घोराही सडक सुरुङ मार्ग बन्छ । यो मेरै नेतृत्वमा हुन्छ ।”
दाङमा एयरपोर्टको समस्याबारे आफू जानकार रहेको भन्दै प्रधानन्त्री ओलीले भने, “यो साल बजेट बिनियोजन भएको छैन । म यसै वर्ष एयरपोर्ट बन्छ भन्दिनँ । आउँदो वर्ष एयरपोर्टका लागि बजेट बिनियोजन गर्छौं । मेरै कार्यकालमा दाङ एयरपोर्ट बन्छ ।”
फरक प्रसङ्गमा बोल्दै एमालेका अध्यक्षसमेत रहेका ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देशकै ‘सबैभन्दा ठूला लुटेरा’ को संज्ञा दिएका छन् ।
उनले माओवादी नेतृत्वले देशको अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाउँदै भने, “देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भन्दै कुप्रचार गरिरहेका छन् । तर, प्रधानमन्त्रीसँग भ्रष्टाचारको फाइल हुँदैन । म पनि प्रधानमन्त्री छु, मसँग त छैन ।”
प्रधानमन्त्री ओलीले माओवादीले विदेशी शक्तिको इशारामा काम गरिरहेको आरोप लगाए । उनले भने, “विदेशी इशारामा चल्नेहरू किनारा लाग्छन् । किनारा लगाइन्छ ।” ओलीले माओवादी नेतृत्वलाई विदेशी शक्तिहरूको निर्देशनमा काम गर्ने दलका रूपमा चित्रण गर्दै त्यसलाई जनताले अस्वीकार गर्ने बताए ।
देशको अर्थतन्त्र कमजोर बनाउने मुख्य कारण माओवादी नेतृत्व भएको उनको भनाइ छ । “अर्थतन्त्र खोक्रो बनाउने माओवादी नै हो। एमालेले अर्थतन्त्र बलियो बनाउँछ”, ओलीले दाबी गरे ।
उनको यो टिप्पणीले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने देखिन्छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले यसबारे प्रतिक्रिया दिने कि नदिने भन्ने विषयमा चासो बढेको छ ।