एमाले नेतृत्वमा दाङको विकासले काँचुली फेर्छ–महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको नेतृत्वमा दाङको विकासले काँचुली फर्ने दाबी गरेका छन् ।
नेकपा (एमाले) दाङले घोराहीमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको सरकार बनेसँगै रोकिएको दाङको विकास सुचारु भएको बताए ।
‘‘एमालेको सरकार बनेसँगै रोकिएका दाङका विकास सुरु भएका छन् । लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर चारलेन सडक निर्माण प्रारम्भ भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.वि.एस.को पठनपाठन सुचारु भएको छ’’, महासचिव पोखरेलले भने, ‘‘अब क्रमैसँग अन्य योजनाहरुले पनि निरन्तरता पाउने छन् । टरिगाउँ विमानस्थलको स्रोत सुनिश्चित् गर्नेगरी सरकारलाई आग्रह गरेका छौं ।‘‘
सरकारले जनमुखी काम प्रारम्भ गरेको भन्दै उनले भूमि समस्या समाधानका लागि अध्यादेश ल्याएको बताए । ‘‘जब एमाले सरकारमा जान्छ, तब जनताका अपेक्षा अनुरुपका कार्यहरु हुन्छन् । लामो समयदेखिको भूमि समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको छ । हामै पालामा भूमि समस्या समाधान हुन्छ”, महासचिव पोखरेलले भने ।
पोखरेलले सरकारले ल्याएका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने दाबी गर्दै पोखरेलले अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको स्पष्ट पारे ।
“अध्यादेश संसद छल्न ल्याइएको होइन । संसदबाट प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सरकारले ती अध्यादेश ल्याउनु परेको हो”, महासचिव पोखरेलले भने, “जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई ढिलो नगर्नकै लागि सरकारले अध्यादेशमार्फत् ती निर्णयहरू ल्याएको हो ।”
सरकारले ल्याएका अध्यादेश जनताका पक्षमा रहेको बताउँदै पोखरेलले थपे, “यदि यी अध्यादेश जनहित विपरीत छन् भने त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु । केवल विरोधका लागि विरोध गर्नुको तुक छैन ।”
उनले विपक्षी दलहरूलाई संसदमा प्रस्तुत भएर विधिसम्मत ढंगले बहस गर्न आग्रह गरे । सरकारले ल्याएका अध्यादेशमध्ये कतिपयलाई संसदबाट पारित गराउनुपर्ने प्रक्रिया बाँकी रहेको भन्दै उनले पोखरेलले ती अध्यादेश संसदबाट पारित गरेरै छाड्ने दाबी गरे ।
“सरकारका अनुसार अध्यादेशहरू आर्थिक, प्रशासनिक सुधार, कानूनी व्यवस्थापन र नीति परिमार्जनसँग सम्बन्धित छन् । ती अध्यादेश संसदबाट पारित भएपछि कार्यान्वयन प्रक्रियामा सहजता आउने छ”, पोखरेलले बताए ।
एमाले नेता पोखरेलले सरकारको नीति तथा निर्णय जनताको हितमा केन्द्रीत रहेको भन्दै आगामी दिनमा पार्टीले विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।