सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बुलेटिनअनुसार बाँकी भूभागमा आंशिक बदली रहने तथा मौसम मुख्यतया सफा रहने जनाइएको छ। तराईका केही स्थानहरूमा बिहानको समय हुस्सु/कुहिरो लाग्ने सम्भावना छ, जसले गर्दा जनजीवन, स्वास्थ्य, तथा यातायातमा असर पार्न सक्ने अनुमान गरिएको छ।
यसैगरी, कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा यात्रा गर्ने तथा तराईका क्षेत्रमा बिहान सवारीसाधन चलाउने यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। हुस्सु/कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ।








