नेपाल विद्युत् प्राधिकरणको ७ खर्ब सम्पत्ति, सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको छ। सात खर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको प्राधिकरणले प्रारम्भिक रूपमा २० प्रतिशत सेयर निष्कासन गर्ने योजना बनाएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सर्वसाधारणको लगानी नै जलविद्युत् विकासको प्रमुख आधार बन्न सक्छ।
नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा बोल्दै घिसिङले जलविद्युत् आयोजनाहरूको आईपीओ जारी गर्दा केही जोखिम भए पनि नियमन गरी सेयर खोल्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार जलविद्युत् आयोजनाहरूले पिपिए सम्झौता गरेपछि पनि निर्माणमा नजाने प्रवृत्ति अन्त्य हुन आवश्यक छ।
प्राधिकरणले हालसम्म १२ हजार मेगावाट क्षमताका आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिसकेको छ। हाल ३,५०० मेगावाटका आयोजना सञ्चालनमा छन्, तर हिउँदमा उत्पादन घटेर १,१०० मेगावाट मात्रै हुने गरेको छ। आगामी वर्षहरूमा २८,५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य लिएको प्राधिकरण अझै पिपिए सम्झौता गर्न सकारात्मक रहेको छ।
घिसिङले पिपिए सम्झौता गरेर आयोजना ओगट्ने तर निर्माण नगर्ने प्रवृत्तिले विद्युत् क्षेत्रको विकासलाई प्रभावित पारिरहेको बताए। उनले वर्तमान अवस्थामा पिपिए भएका आयोजनाहरू नै पूर्ण रूपमा निर्माण सम्पन्न नभइसकेको अवस्थामा थप पिपिए सम्झौताको माग कति जायज छ भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे।
भारतसँगको क्रसबोर्डर प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालले निश्चित आम्दानीको ग्यारेन्टी पाएको घिसिङले जानकारी दिए। यस सन्दर्भमा प्राधिकरणले सर्वसाधारणलाई सेयर निष्कासन गरेर जलविद्युत् क्षेत्रमा आम नागरिकको सहभागिता बढाउने योजनासहित अघि बढेको छ। यसबाट ऊर्जा क्षेत्रमा स्थायित्व आउने र दीर्घकालीन रूपमा लगानीकर्ताले लाभ पाउने उनको विश्वास छ।