२ पुस २०८२, बुधबार

ओडिसा घटनाबारे विपक्षी दलका सांसदहरूः सरकारको कुटनीतिक कमजोरीले नेपाली विद्यार्थीले अपमान सहनुपर्‍यो

प्रकाशित मिति :  18 February, 2025 3:11 pm


फाइल फाेटाे।

काठमाडाैँ ।भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चतरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन् ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कुटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताए । उनले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरुमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरे । सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कुटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरे । उनले नेपालको कुटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गरिरहेको बताए । उनले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानविन गर्न कुटनीति पहल गर्न माग गरे । सभाको आकस्मिक समयमा सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !