प्रचण्डलाई सांसद थापाको प्रश्नः झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिशोध भन्नु भ्रष्टाचार ढाकछोप होइन ?
काठमाडाैँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरुले छानविन गरिरहेको बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानविन नहुने बताए ।उनले छानविन गर्ने कानून र निकायहरुले छानविन गरिरहेको बताए । उनले देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरू उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।
“आज देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद छ । अनेक काण्ड चर्चामा छन्, चर्चामा ल्याइएका छन् । ति उचालिन्छन्, सेलाउँछन् । काण्डहरू उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् । विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरु अहिले बढी सक्रिय भएको पाइन्छ,” उनले भने ।
उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्नेकुरा भ्रष्टाचारको ढाकछोप हो की होइन ? भन्दै प्रश्न गरे ।








