१२ चैत्र २०८१, बुधबार

युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  19 February, 2025 12:44 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् ।

बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरेका छन् । उनले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताए ।

उनले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबिच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गरे । युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको बताए ।

लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिवद्धता जनाए । दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र भएको बताए ।

फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको बताए । प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन भएको उल्लेख गरे । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस !