पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिदै छ–महासचिव पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरता र परिवर्तनलाई कमजोर बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचाल्ने प्रयास भइरहेको बताएका छन् ।
एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्न कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर स्थापित लोकतान्त्रिक प्रणालीलाई केही प्रतिगामी शक्तिहरू पुनः कमजोर बनाउन लागिपरेको टिप्पणी गरे ।
उनले पछिल्लो समय पञ्चायती प्रवृत्ति फेरि सल्बलाउन थालेको उल्लेख गर्दै जनताले प्राप्त गरेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताए ।
“राजनीतिक परिवर्तनलाई असफल बनाउन केही शक्तिहरूले पूर्वराजालाई अगाडि सारेर वक्तव्यबाजी गरिरहेका छन् । तर, हामी यो परिवर्तनलाई उल्ट्याउन दिन्नौं”, पोखरेलले भने, “उनले कार्यकर्ताहरूलाई लोकतान्त्रिक उपलब्धीहरूलाई थप संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउने दिशामा लाग्न निर्देशन दिए ।
महासचिव पोखरेलले नेपालमा बलिया दुईवटा राजनीतिक शक्ति आवश्यक रहेको धारणा राख्दै अस्थिर राजनीतिले मुलुकलाई कमजोर बनाउने उल्लेख गरे । उनले भने, “बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन सक्छ । स्थायी सरकार बनाउन सकिन्छ ।”
दल खोल्न निषेध गर्न खोजिएको भन्ने आरोप अस्विकार गर्दै पोखरेलले राजनीतिक स्थायित्वका लागि थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्ने तर्क राखे । “लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित बनाउन थ्रेसहोल्डको प्रावधान आवश्यक छ, तर कोही चुनाव जितेर सत्ता सञ्चालन गर्न चाहन्छ भने त्यसमा रोक लगाउनुहुँदैन”, उनले थपे ।
उनले अनियन्त्रित दलहरूको विस्तारलाई ‘राजनीतिक खुद्रा पसल’ संज्ञा दिँदै साना–छोटा दलहरूको संख्या वृद्धिले देशको राजनीतिक स्थायित्व कमजोर पार्ने धारणा व्यक्त गरे ।
“हामी स्थायी सरकार, स्थिरता र विकास चाहन्छौं । त्यसका लागि बलिया राजनीतिक संरचना आवश्यक छ”, पोखरेलले स्पष्ट पारे ।
महासचिव पोखरेलको टिप्पणीले वर्तमान राजनीतिक परिदृश्यमा पुनःराजसंस्थाको भूमिकाबारे चलिरहेका बहसलाई इंगित गरेको छ ।
एमालेले सुरु गरेको अभियानले लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकासलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले अस्थिर राजनीतिलाई समाप्त गर्न बलियो शक्ति निर्माण गर्नुपर्ने तर्क अघि सारे ।








