प्रजातन्त्र दिवसको कार्यक्रममा सरकार पक्षकै नेताहरू अनुपस्थित, पूर्वप्रधानमन्त्री भट्टराईको असन्तुष्टि
काठमाडौँ । नेपालमा प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष झैं सैनिक मञ्चमा आयोजित औपचारिक समारोहमा यस वर्ष समेत सरकार पक्षका प्रमुख नेताहरू अनुपस्थित रहेकोप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
“सरकार पक्षकै पूर्वप्रधानमन्त्री तथा वहालवाला उपप्रधानमन्त्रीहरू समेत उपस्थित नभएको देख्दा निकै नमिठो अनुभूति भयो,”भट्टराईले सामाजिक सञ्जालमार्फत लेखेका छन् । उनले प्रमुख प्रतिपक्षी दलका केही नेताहरू भने उपस्थित रहेको तर सरकारका शीर्ष नेतृत्व अनुपस्थित रहनु आपत्तिजनक भएको उल्लेख गरेका छन्।
उनले राष्ट्रिय दिवसहरूको सम्मान गर्न सबैलाई आग्रह गर्दै भनेका छन्, “राष्ट्रिय दिवसहरूवारे कतिपय सच्याउनु पर्ने कुरा छन्। तीवारे पुनर्विचार गरेर संख्या घटाउनुपर्छ भन्ने मेरो शुरूदेखि नै दृढ मत छ। तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्छ।”
भट्टराईले विशेषतः सेना, प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरू, सांस्कृतिक झाँकी प्रस्तुत गर्ने स्थानीय तहका प्रतिनिधिहरू, राष्ट्रिय खेलाडीहरूको प्रदर्शनलगायतलाई उत्साहित गर्न नेताहरूको उपस्थिति आवश्यक रहेको बताए। उनले थपे, “सधैं निकै मेहनत गरेर उच्च कोटीको देशभक्तिपूर्ण प्रस्तुति दिने कलाकार तथा सुरक्षाकर्मीलाई हौसला दिनु ठूला नेताहरूको कर्तव्य होइन ? कि चुनावको वेला मात्रै दाँत ङिच्याउँदै जाने हो?”








