सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई काठमाडौँ महानगरले १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने
काठमाडाैँ । काठमाडौम् महानगरपालिकाले घर, कम्पाउण्ड तथा परिसरको फोहोर सडक, फुटपाथ वा अन्य सार्वजनिक स्थानमा फाल्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। सार्वजनिक स्थानहरू सफा राख्ने उद्देश्यसहित महानगरले यस्ता गतिविधिलाई रोक्न प्रतिबन्ध लगाएको जनाएको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार महानगर क्षेत्रलाई फोहोरमुक्त बनाउन वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) अनुसार नियम लागू गरिएको हो। यस अनुसार सार्वजनिक स्थानमा फोहोरमैला फाल्ने वा थुपार्ने पाइएमा दोषीलाई पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।
महानगरपालिकाले सरसफाइ कायम गर्न आम नागरिकलाई सचेत रहन आग्रह गर्दै, नियम उल्लंघन गर्ने जो कोहीलाई कारबाही गरिने स्पष्ट पारेको छ। साथै, फोहोर व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गरी नयाँ रणनीति अवलम्बन गर्ने तयारी पनि भइरहेको जानकारी गराएको छ।








