अमेरिकी राष्ट्रपतिको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्योः सांसद शाही

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाव माग्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानविन गरी कारबाही गर्नुपर्ने बताएका हुन् । उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरूकै कारण यस्तो भएको जिकिर गरे ।
नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ ।
“भर्खरै राष्ट्रपतिमा जितेका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्टको देश भनिसक्नु भयो । किन भनियो भने संघीयताको शिर्षकमा आउने २० मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ७६ अर्ब ६४ लाख रुपैयाँ र नेपालमा जैविक विविधताका संरक्षण अन्तर्गत दिन लागिएको १९ मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग यो चाहीँ भष्ट्राचारीले लिए, यो फ्रड हो भन्दिनुभयो,”उनले भने ।
प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरुप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरु देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर गरे । उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको दाबी गरे । भ्रष्ट नेताहरूकै कारण नेपालको अर्थ व्यवस्था तथा अयोजना योजनाहरु लथालिङ्ग भएको भन्दै उनले सेतो भ्रष्टाचार गर्नेहरू को को हुन् छानविन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।