बेलुन पड्किँदा घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।
उक्त घटनाका कारण नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य जलनको उपचारका लागि अस्पताल भर्ना भएका थिए। अर्थमन्त्री पौडेल तीन दिनअघि नै डिस्चार्ज भएका थिए भने मेयर आचार्य आज अपराह्न काठमाडौँस्थित किर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हुन्।
मेयर आचार्यले आफ्नो उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौँका चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई हार्दिक आभार व्यक्त गरेका छन्। साथै, स्वास्थ्यलाभको कामना गर्ने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, संघीय तथा प्रदेश सांसदहरू, कूटनीतिक नियोगका व्यक्तित्वहरू, सुरक्षा निकाय, मिडिया प्रतिनिधि, पोखरेली जनसमुदाय तथा स्वदेश–विदेशमा रहेका शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।