नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज बिहान ११ बजेबाट सुरु हुँदैछ । बैठकमा पार्टीको राजनीतिक दिशा, सांगठनिक संरचना तथा आगामी रणनीतिहरू माथि महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रमुख एजेन्डा रहनेछ । उक्त प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, सरकार र पार्टीको भूमिकाबारे मूल्यांकन तथा भावी मार्गचित्रबारे प्रष्ट पारेको विश्वास गरिएको छ ।
त्यस्तै, बैठकमा पार्टीको नियमावली, विनियम, निर्देशिका तथा आचारसंहितासम्बन्धी विषयहरू माथि समेत छलफल हुनेछ । पार्टीलाई अझ व्यवस्थित र अनुशासित बनाउन आवश्यक परिमार्जनबारे नेताहरूबीच विमर्श हुने बताइएको छ ।
यसैगरी, पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समीक्षा बैठकको अर्को महत्वपूर्ण एजेन्डा हुनेछ। महाधिवेशनपछि पार्टीमा देखिएका परिवर्तन, सांगठनिक सुदृढीकरणका चुनौतीहरू तथा कार्यान्वयन रणनीतिबारे छलफल हुने जनाइएको छ।
पार्टीको सांगठनिक सुदृढीकरण र जनस्तरमा पार्टीको आधार विस्तारका लागि आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना समेत बैठकमा प्रस्तुत हुनेछ ।
यस सन्दर्भमा पार्टी नेतृत्वले सरकारसँगको सम्बन्ध, संगठन विस्तार रणनीति तथा सम्भावित आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने बताइएको छ ।