लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु
अर्घाखाँची । लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुन लागेको छ ।
सामाजिक विकास मन्त्रालयको अगुवाइमा सञ्चालन हुने यो अभियानमा प्रदेशभरका विद्यालयका पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र लगानीलाई परिचालन गरिनेछ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा १७ वटा विद्यालयबाट अभियान सुरु गरिँदैछ ।
मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न यो अभियान अपरिहार्य भएको बताउँदै भन्नुभयो, “७१ प्रतिशत बालबालिकाले रोजेको सामुदायिक विद्यालयप्रति अझ विश्वास बढाउन आवश्यक छ ।”
सामुदायिक विद्यालयको सुधारमा पूर्वविद्यार्थीको भूमिका
प्रदेश सरकारले सार्वजनिक विद्यालयको गरिमा कायम राख्न र सरोकारवालाको जिम्मेवारी वृद्धि गर्न नीति कार्यक्रममा नै ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान समावेश गरेको थियो ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाका अनुसार, प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिँदैछ ।
गत वर्ष एसईई परीक्षाको कमजोर नतिजा आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीको सिकाइस्तर अभिवृद्धि गर्न पूर्वविद्यार्थीहरूको योगदान सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यो अभियानले विद्यार्थीहरूबीच अन्तरक्रिया गराई शैक्षिक स्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयको अवस्था
लुम्बिनी प्रदेशमा हाल ६,३४० विद्यालय छन्, जसमा ४,५३१ सामुदायिक विद्यालय छन्। यी विद्यालयमा कूल १२,८८,२९८ विद्यार्थी अध्ययनरत छन्, जसमा ९,२५,६२९ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । यस अभियानले सामुदायिक विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र आकर्षक बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।








