१० चैत्र २०८१, सोमबार

रास्वपाको केन्द्रीय राजनीतिक प्रशिक्षण कार्यक्रम सुरू

प्रकाशित मिति :  21 February, 2025 4:36 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरू गरेको छ ।

पहिलो प्रशिक्षण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा आयोजना भइरहेको छ, जसमा केन्द्रीय समिति सदस्यहरूलाई सहभागी गराइएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन बिहानको सत्रमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पारे ।

कार्यक्रममा उपसभापति डा। स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत बनाउनका साथै नेतृत्व विकासमा प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे । उनले पार्टीको आगामी योजना अन्तर्गत केन्द्रीय तहपछि प्रदेश, जिल्ला र पालिका स्तरसम्म प्रशिक्षण सञ्चालन गर्ने तालिका रहेको जानकारी दिए ।

यो प्रशिक्षण कार्यक्रम भोलि पनि नियमित रूपमा सञ्चालन हुनेछ । पार्टीले केन्द्रीय तहबाट सुरू गरिएको राजनीतिक प्रशिक्षणलाई प्रदेश, जिल्ला, पालिका हुँदै वार्डस्तरसम्म विस्तारित गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !