१० चैत्र २०८१, सोमबार

दाङका कलश सहकारी र सर्वोत्तम सहकारीबिच एकीकरण

प्रकाशित मिति :  22 February, 2025 6:03 pm


दाङ । दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बीच एकीकरण सम्पन्न भएको छ ।

एकीकरणको उपलक्ष्यमा आज शनिवार घोराहीमा पहिलो प्रारम्भिक साधारणसभा तथा एकीकरण घोषणासभा आयोजित गरिएको छ ।

तदर्थ समितिका अध्यक्ष माधव खनालकाे अध्यक्षता एवम् जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष र एकीकरण कार्यदलका संयोजक बालचन्द्र शर्माले दुवै संस्थाको एकीकरणको औचित्य र भविष्यका रणनितीका बारेमा जानकारी दिँदै भने, “संस्था एकीकरणबाट हामीले दिगो रूपमा सञ्चालन गर्न र संस्थाको खर्चमा कटौती गर्दै नाफामूलक बनाउने उद्देश्य राखेका छौँ ।”

शर्माले थपे, “सदस्यहरूको सेवामा वृद्धि गर्ने, प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने, नयाँ प्रविधिहरू र नवप्रवर्तनको प्रयोग गर्ने जस्ता महत्त्वपूर्ण उद्धेश्यहरू यस एकीकरणका भाग रहेका छन्।”

संस्थाले सदस्यता वृद्धिमा उल्लेख्य विस्तार गर्ने, मोबाइल बैंकिङ एप सञ्चालन गर्ने, जिरो शेवाशूल्कमा ऋण लगानी गर्ने र सहकारी बजारमा लगानी बढाएर सहुलिएत दरमा सामान खरीदबिक्री गर्ने योजनाहरू ल्याउनेछ ।

साबिक सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका नयाँ लक्ष र योजनाबारे जानकारी दिएका थिए ।

कोषाध्यक्ष नवराज भण्डारीले दुवै संस्थाको एकीकरणपछि १९ करोड बढीको वासलात विवरण भएको जानकारी दिएका थिए, भने सचिव विमल योगीले संस्थाको पुनर्लिखित विनियमका बारेमा जानकारी दिएका थिए ।

प्रमुख अतिथि गौतमले छरिएर रहेका सहकारी संस्थाहरूको एकीकरण अहिलेको आवश्यकता रहेको बताए । “कलश बचत र सर्वोत्तम सहकारीका सदस्यमैत्री क्रियाकलापले यस एकीकरणलाई सार्थक बनाउनेछ”, उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, घोराही उप-महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसी, राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा प्रमुख प्रदिप अर्याल र जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष विमल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले माधव खनालको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ।

सञ्चालक समितिको उपाध्यक्षमा चन्द्रावती भण्डारी, सचिवमा विमल योगी, कोषाध्यक्षमा नवराज भण्डारी र सदस्यहरूमा शालिकराम खनाल, श्रीकान्त अधिकारी, ईश्वरी प्रसाद आचार्य, केशव रिजाल, मंगला राणा, गेहेन्द्र बस्नेत र गायत्रा खनाल रहेका छन्। लेखा सुपरीवेक्षण समितिको संयोजक हरिहर आचार्य छन्, जसमा ऋचा डाँगी पाण्डे र श्रीधर योगी सदस्य छन् कार्यक्रमको सञ्चालन तदर्थ समितिका सचिव विमल योगीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !