५ जेष्ठ २०८१, शनिबार

कर चुक्ता गर्ने सरकारको सूचनालाई भद्र अवज्ञा गर्नुको विकल्प छैन : नेपाली कांग्रेस

प्रकाशित मिति :  3 June, 2020 3:05 pm


काठमाण्डौं, २१ जेठ ।

नेपाली कांग्रेसले जेठ २५ गतेभित्र विभिन्न कर चुक्ता गर्न सरकारको सूचनालाई भद्र अवज्ञा गर्नुको विकल्प नभएको बताएको छ ।

सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै नागरिकले तिर्ने करले नै मुलुक चल्ने भएपनि करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले भनेका छन्,‘सरकारले जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहंदैन ।’

साना-ठूला व्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर सरकारले सूचना जारी गरेकोप्रति गम्भीरतापूर्वक आकृष्ट भएको सभापति देउवाको विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरुले भोग्नु परेको व्यवसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको रहेको पनि सभापति देउवाले स्मरण गराएका छन् ।

सभापति देउवाले आफ्नो विज्ञप्तिमा भनेका छन्,‘लक डाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका विच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पिडाप्रति असंवेदनशील बन्नु हो ।’

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितब्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।

विज्ञप्तिमा सभापति देउवाले व्यापक पीसीआर परिक्षण गरेर साना—ठूला व्यवसाय क्रमशः संचालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसंग नदेखिएको आरोप लगाएको छ ।

कांग्रेसले भनेको छ,‘समग्र व्यवसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकारवालाहरुसंग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्न तर्फ पनि सरकारको ध्यान गएन । तर लक डाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदना विहिन रहेको पुष्टि भएको छ ।’



प्रतिक्रिया दिनुहोस !