२ पुस २०८२, बुधबार

काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौंः शेखर कोईराला

प्रकाशित मिति :  23 February, 2025 11:29 am


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरूले खबरदारी गर्नुपर्ने बताएका छन् ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोईरालाले नेपाली काँग्रस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले काँग्रेस र एमालेबिच सत्ता सहकार्यमा खटपट सुरू भएको अनुमान गरेका थिए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोईरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभइ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरूले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पारे । उनले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरूले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए । 

०८२ मंसिरभित्र अधिवेशन नभए देश, लोकतन्त्र र काँग्रेस अफ्ठ्यारोमा पर्छ

नेता कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए । ताेकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताए ।

सांसद कोईरालाले भने,”नेपाली काँग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली काँग्रेसका धेरै कार्यकर्ताहरुको इच्छा छ । ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरुको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ । नेपाली काँग्रेसमा ग्रुपिजमहरु छ । अधिवेशनको बेलामा प्यानलहरु बन्छ तर यो कुराहरु अहिले धेरै छिटो भयो भन्ने लाग्छ,”।

सांसद कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरूको दायित्व भएको बताए ।



प्रतिक्रिया दिनुहोस !